१९६६ मा एन्टोनियो राटिनले मैदान छोड्न अस्वीकार गरेको घटना, १९८६ मा डिएगो म्याराडोनाको “ह्यान्ड अफ गड” गोल, र १९९८ मा डेभिड बेकह्यामले रातो कार्ड पाएको क्षण, यी सबै विश्वकप इतिहासका यस्ता दृश्य हुन् जसले फुटबलभन्दा धेरै टाढासम्म प्रभाव पारे ।
इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा केवल खेल होइन; यो दुई राष्ट्रको राजनीतिक, सांस्कृतिक र भावनात्मक इतिहाससँग जोडिएको प्रतिद्वन्द्विता हो । अब विश्वकप सेमिफाइनलमा यी दुई टोली पुनः आमनेसामने हुँदै गर्दा, समाचार स रोयटर्सले ती ऐतिहासिक क्षणहरू प्रत्यक्ष देखेका साक्षीहरूको अनुभव संकलन गरेको छ ।
अर्जेन्टिनामा जन्मेका र पछि इङ्ल्यान्डमा अध्ययन गरेका रेक्स गोवार वर्ल्ड कप क्वार्टरफाइनल हेर्न वेम्बली पुगेका थिए ।
“त्यो बेला टिकट लिन कति सजिलो र सस्तो थियो,” उनले सम्झिए । खेलको निर्णायक मोड तब आयो जब अर्जेन्टिनी मिडफिल्डर एन्टोनियो राटिनलाई मैदानबाट निकालियो । तर उनले केही मिनेटसम्म मैदान छोड्न मानेनन् ।
“राटिन लगातार रेफ्रीसँग किन अर्जेन्टिनाविरुद्ध फाउल दिइरहनुभएको छ भनेर सोधिरहेका थिए। अन्ततः जब उनी बिस्तारै मैदानबाट बाहिरिए, उनी हाम्रो अगाडिबाटै सुरुङतर्फ गए,” गोवारले भने ।
त्यो खेलमा जियोफ हर्स्टले निर्णायक गोल गरे र इङ्ल्यान्ड १–० ले विजयी भयो । पछि इङ्ल्यान्डले विश्वकप नै जित्यो ।
१९८६ – ‘ह्यान्ड अफ गड’
मेक्सिको सिटीको एज्टेका स्टेडियममा भएको क्वार्टरफाइनल फकल्यान्ड/माल्भिनास युद्धको चार वर्षपछि खेलिएको थियो, त्यसैले खेलको राजनीतिक महत्व निकै ठूलो थियो ।
फोटोग्राफर ग्यारी हर्सहर्न आफ्नो पहिलो विश्वकप कभर गर्दै थिए । “यो केवल फुटबल खेल थिएन । यसमा ठूलो भूराजनीतिक अर्थ जोडिएको थियो,” उनले भने । म्याराडोनाले दोस्रो हाफको सुरुमै दुई गोल गरे । पहिलो गोल, जसलाई पछि “ह्यान्ड अफ गड” भनियो, धेरै प्रत्यक्षदर्शीले त्यतिबेला स्पष्ट देख्नै सकेनन् ।
“म घटनास्थलको उल्टो पट्टि थिएँ, त्यसैले न त फोटो खिच्न पाएँ, न त तत्कालै के भएको हो बुझ्न सकेँ,” हर्सहर्नले भने ।
प्रेस बक्समा रहेका पत्रकार रेक्स गोवारले पनि सुरुमा त्यो हातको गोल छुटाए । “सबै कुरा यति छिटो भयो कि मैले देख्न सकिनँ । तर छेउमा बसेका सहकर्मीले भने, ‘उसले हात प्रयोग गर्यो’,” उनले सम्झिए ।
पछि म्याराडोनाको प्रसिद्ध भनाइ संसारभर फैलियो, “थोरै म्याराडोनाको टाउकोले, र थोरै भगवानको हातले।”
अर्जेन्टिना २–१ ले विजयी भयो र अन्ततः विश्वकप उपाधि पनि जित्यो ।
१९९८ – बेकह्यामको रातो कार्ड
सन् १९९८ मा फ्रान्सको सेन्ट एटियेनमा भएको अन्तिम १६ को खेलमा इङ्ल्यान्डका रिजर्भ गोलकिपर नाइजेल मार्टिन बेन्चमा थिए । “हामी जित्नमै केन्द्रित थियौं । प्रतिद्वन्द्वितालाई मिडियाले अझ धेरै तातो बनाइरहेको थियो,” उनले भने ।
पहिलो हाफ २–२ मा सकियो । दोस्रो हाफको सुरुमा डेभिड बेकह्यामले डिएगो सिमेओनेलाई लात हानेपछि रातो कार्ड पाए ।
इङ्ल्यान्ड पेनाल्टीमा पराजित भयो र धेरै समर्थक तथा मिडियाले हारको दोष बेकह्यामलाई दिए ।
“त्यो निर्णय अन्यायपूर्ण थियो । रातो कार्ड दिनुपर्ने खालको घटना थिएन,” मार्टिनले भने । चार वर्षपछि भने इङ्ल्यान्डले बदला लियो । २००२ विश्वकपमा बेकह्यामकै पेनाल्टी गोलबाट इङ्ल्यान्ड १–० ले विजयी भयो ।
“त्यो जित बदला जस्तै महसुस भएको थियो,” मार्टिनले सम्झिए ।
प्रतिद्वन्द्विता जसले इतिहास बनायो
राटिनको अवज्ञा, म्याराडोनाको ‘ह्यान्ड अफ गड’ र बेकह्यामको रातो कार्ड, यी तीन घटनाले इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धालाई सामान्य फुटबल खेलभन्दा धेरै माथि पुर्याए । दशकौं बितिसक्दा पनि यी क्षणहरू समर्थक, पत्रकार र खेलाडीहरूको स्मृतिमा उस्तै ताजा छन्, र प्रत्येक नयाँ भेटमा त्यो इतिहास फेरि जीवित हुने गर्छ ।





प्रतिक्रिया