अमेरिकाले शनिबार राति इरानविरुद्ध अर्को चरणको हवाई आक्रमण गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार इरानका तटीय निगरानी प्रणाली, हवाई प्रतिरक्षा संरचना तथा सैन्य क्षमतालाई लक्षित गर्दै आक्रमण गरिएको हो । इरानी सरकारी सञ्चारमाध्यमले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरूमध्य नजिकको क़ेश्म टापुमा पनि अमेरिकी आक्रमण भएको पुष्टि गरेका छन् ।
अमेरिकाले शुक्रबार जोर्डनमा भएको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएको घटनाका जिम्मेवार इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका संरचनालाई पनि निशाना बनाएको जनाएको छ । उक्त घटनामा एक अमेरिकी सैनिक अझै बेपत्ता रहेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन् ।
अमेरिकी आक्रमणको जवाफस्वरूप इरानले कुवेतस्थित दुई अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ । इरानको निकट समाचार संस्था तस्निमका अनुसार क्याम्प उदैरी र अली अल सलिम एयर बेसमा “आत्मघाती ड्रोन” प्रयोग गरी ठूलो आक्रमण गरिएको हो ।
कमाण्डका अनुसार पछिल्लो हवाई आक्रमणको मुख्य उद्देश्य इरानले विश्वको प्रमुख तेल आपूर्ति मार्ग हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजहरूलाई धम्की दिने क्षमता कमजोर बनाउनु हो । पछिल्ला आठ रातदेखि निरन्तर आक्रमण भइरहेको अमेरिकी सेनाले जनाएको छ ।
केही साताअघि अमेरिका र इरानबीच भएको प्रारम्भिक युद्धविराम सम्झौता टिक्न सकेन । अमेरिकाले फेरि इरानी बन्दरगाहमाथि नाकाबन्दी कडा बनाएको छ भने इरानले हर्मुज जलडमरूमध्य बन्द भएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ८ मा उक्त सम्झौता “समाप्त भएको” घोषणा गरेका थिए ।
जोर्डनमा भएको पछिल्लो हमलापछि अमेरिकी पक्षका दुई सैनिकको मृत्यु भएसँगै यो द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको छ। यसअघि बेपत्ता भएका एक अमेरिकी नौसेना पाइलटलाई पनि मृत घोषणा गरिएको थियो।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला तीन सातामा अमेरिकी आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।
इरान र अमेरिकाले एकअर्कामाथि नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएका छन्। अमेरिकाले भने आफ्नो आक्रमण सैन्य लक्ष्यमा मात्र केन्द्रित रहेको दाबी गरेको छ। उता गल्फ कोअपरेशन काउन्सिलले इरानले कुवेतका विद्युत् केन्द्र र पानी प्रशोधन केन्द्रमा आक्रमण गरेको आरोप लगाएको छ।
अन्तर्राष्ट्रिय कानुनअनुसार नागरिक र नागरिक संरचनामाथि आक्रमण गर्नु गैरकानुनी मानिन्छ। यद्यपि कुनै नागरिक संरचना प्रत्यक्ष रूपमा सैन्य प्रयोजनका लागि प्रयोग भएको प्रमाणित भएमा त्यसले कानुनी संरक्षण गुमाउन सक्छ।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले अमेरिकाले पटक–पटक सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।
अमेरिका–इरानबीचको तनाव फेरि पूर्ण सैन्य द्वन्द्वतर्फ उन्मुख देखिएको छ । हर्मुज जलडमरूमध्यमा असुरक्षा बढेमा विश्वव्यापी तेल आपूर्ति, ऊर्जा मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने विश्लेषण गरिएको छ। साथै मध्यपूर्व क्षेत्रमा थप सैन्य विस्तारको जोखिम पनि बढ्दै गएको छ ।





प्रतिक्रिया