शार्कलाई प्रायः निर्दयी समुद्री शिकारीका रूपमा चित्रण गरिन्छ । तर करोडौं वर्षको विकासक्रमले यी समुद्री जीवलाई केवल शक्तिशाली मात्र होइन, अत्यन्त बुद्धिमान र आश्चर्यजनक विशेषताले भरिपूर्ण बनाएको छ । पृथ्वीका सबैभन्दा पुराना कशेरुकी शिकारीमध्ये एक मानिने शार्कले पाँचवटै महाविनाश पार गर्दै आजसम्म आफ्नो अस्तित्व जोगाएको छ ।
यहाँ शार्कबारे ९ रोचक तथ्य प्रस्तुत छन्:
पृथ्वीमा ठूलो विनाश हुँदा पनि शार्क बाँचिरहे
शार्क वा तिनका पूर्वजहरूले पृथ्वीमा भएका पाँचवटै ठूलो सामूहिक विनाश पार गरेका छन् । विशेषगरी करिब २५२ मिलियन वर्षअघि भएको ‘ग्रेट डाइङ‘मा पृथ्वीका करिब ९० प्रतिशत समुद्री जीव नष्ट भए पनि शार्क भने बच्न सफल भए ।
आज शार्क संसारका लगभग सबै महासागरमा पाइन्छन् ।
२. शार्कले सामान्य गणित गर्न सक्छन्
शार्कलाई केवल स्वाभाविक रूपमा आक्रमण गर्ने जीव मानिन्छ। तर अनुसन्धानले उनीहरू निकै बुद्धिमान् रहेको देखाएको छ।
शार्कले:
- फरक–फरक आकृति चिन्न सक्छन् ।
- रंगीन ज्यामितीय आकार छुट्याउन सक्छन् ।
- ध्वनिबीच अन्तर छुट्याउन सक्छन् ।
- तीन र पाँच, चार र सातजस्ता संख्याबीचको भिन्नता छुट्याउन सक्छन् ।
अनुसन्धानमा ग्रे बाँस शार्कले सिकेको कुरा करिब एक वर्षसम्म सम्झन सक्ने देखिएको थियो ।
३. शार्कलाई ज्याज संगीत मन पर्छ
अस्ट्रेलियाको पोर्ट ज्याक्सन शार्कमाथि गरिएको अनुसन्धानमा रोचक तथ्य भेटियो ।
उनीहरूलाई संगीत बज्दा निश्चित स्थानमा पुग्न सिकाइएको थियो । त्यहाँ पुगेपछि खाना दिइन्थ्यो ।
परिणाममा:
- ज्याज संगीत बज्दा शार्क सही स्थानमा पुग्थे ।
- क्लासिकल संगीत बज्दा भने उनीहरूले त्यस्तो सम्बन्ध बनाउन सकेनन् ।
यसले शार्कले ध्वनि र व्यवहारबीच सम्बन्ध सिक्न सक्ने देखाउँछ ।
४. केही शार्कको पनि नाइँटाे (नाभी) हुन्छ
सबै शार्कले अण्डा पार्दैनन् ।
बुल शार्क र ह्यामरहेड शार्कजस्ता केही प्रजातिले बच्चालाई आमाको गर्भमै हुर्काउँछन् । बच्चाले मानिसजस्तै नाल मार्फत पोषण पाउँछ ।
जन्मिएपछि केही समयसम्म उनीहरूको पनि नाभी देखिन्छ ।
५. केही शार्कका बच्चाले गर्भमै आफ्नै दाजुभाइ खान्छन्
स्यान्ड टाइगर शार्क संसारका सबैभन्दा अनौठा जीवमध्ये पर्छ ।
एउटै गर्भमा धेरै भ्रूण हुर्किए पनि उनीहरूले आफ्नै दाजुभाइलाई खाएर अन्ततः एउटा मात्र बच्चा बाँच्छ ।
यसलाई Intrauterine Cannibalism वा Adelphophagy भनिन्छ ।
बाँचेको बच्चाले त्यसपछि आमाले उत्पादन गर्ने निषेचित नभएका अण्डा खाएर अझ बलियो बन्छ ।
६. शार्कका पनि घनिष्ठ साथी हुन्छन्
शार्क सधैं एक्लै बस्ने जीव होइनन् । अनुसन्धानले देखाएको छ कि:
- ग्रे रिफ शार्क एउटै साथी समूहसँग चार वर्षसम्म रहन सक्छ ।
- लेमन शार्क समूहमा बसेर खाना खोज्ने र शत्रुबाट बच्ने सीप सिक्छन् ।
- ग्रेट ह्वाइट शार्क पनि हजारौं किलोमिटर एउटै साथीसँग यात्रा गर्न सक्छन् ।
७. शार्कको छाला साना दाँतले बनेको हुन्छ
शार्कको छालामा सामान्य माछाजस्तो स्केल हुँदैन ।
त्यहाँ हजारौं सूक्ष्म दाँतजस्ता संरचना हुन्छन्, जसलाई डेन्टिकल (Denticles) भनिन्छ ।
यसले:
- पानीको प्रतिरोध कम गर्छ ।
- तीव्र गतिमा पौडिन मद्दत गर्छ ।
- वस्तुको सतह महसुस गर्न सहयोग गर्छ ।
शार्कको छाला हातले छोएर उल्टो दिशामा चलाउँदा निकै खस्रो स्यान्डपेपरजस्तो महसुस हुन्छ ।
८. शार्कले तपाईंको मुटुको धड्कन पनि महसुस गर्न सक्छ
शार्कसँग मानिसभन्दा धेरै संवेदन क्षमता हुन्छ । दृष्टि, गन्ध, स्वाद, स्पर्श र श्रवणबाहेक उनीहरूले:
- पानीको कम्पन महसुस गर्न सक्छन् ।
- विद्युत् संकेत पत्ता लगाउन सक्छन् ।
- पृथ्वीको चुम्बकीय क्षेत्र प्रयोग गरेर दिशा पत्ता लगाउन सक्छन् ।
शिकारको शरीरबाट निस्किने सानो विद्युत् संकेत, यहाँसम्म कि मुटुको धड्कन पनि शार्कले महसुस गर्न सक्छ
यही कारणले उनीहरूले अँध्यारोमा वा बालुवामुनि लुकेको शिकार पनि सजिलै भेट्टाउँछन् ।
९. शार्क रुख, डायनासोर र शनि ग्रहको घेराभन्दा पनि पुराना हुन्
शार्क पृथ्वीका सबैभन्दा प्राचीन जीवमध्ये एक हुन् ।
- करिब ४५० मिलियन वर्षअघि शार्कका पूर्वज अस्तित्वमा थिए ।
- यो पहिलो रुखभन्दा ६ करोड वर्ष पुरानो हो ।
- डायनासोरभन्दा २२ करोड वर्ष पुरानो हो ।
- शनि ग्रहको घेरा बन्नुभन्दा ३५ करोड वर्षअघि शार्क अस्तित्वमा आइसकेका थिए।
आज संसारभर करिब ५०० प्रजातिका शार्क पाइन्छन् । वैज्ञानिकहरूले अझै पनि नयाँ प्रजाति फेला पारिरहेका छन् ।
मानिस र शार्कबीच पनि पुरानो सम्बन्ध
वैज्ञानिकका अनुसार मानिस र शार्कको साझा पूर्वज करिब ४४० मिलियन वर्षअघि अस्तित्वमा थियो । विकासक्रममा दुवैको बाटो फरक भए पनि पृथ्वीको जैविक इतिहासमा शार्कको स्थान अत्यन्त महत्वपूर्ण छ ।
हामीले चलचित्रमा देख्ने “डरलाग्दो शिकारी” मात्र होइन, शार्क अत्यन्त बुद्धिमान्, सामाजिक, संवेदनशील र करोडौं वर्षदेखि पृथ्वीमा जीवित रहँदै आएका अद्भुत समुद्री जीव हुन् । उनीहरूको अस्तित्वले समुद्री पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।





प्रतिक्रिया