ओलीको आरोप– ‘देशमा पञ्चायतकालभन्दा पनि बढी दमन भएकाे छ’



नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पञ्चायतकालभन्दा पनि दमनकारी शैलीमा शासन सञ्चालन गरिरहेको आरोप लगाएका छन् । उनले भदौ २३–२४ गते भएको जेनजी आन्दोलनलाई नेपालको इतिहासकै सबैभन्दा हिंसात्मक र विनाशकारी घटना भएको दाबी गर्दै त्यसपछि लोकतान्त्रिक व्यवस्थामाथि प्रहार भएको बताएका छन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूलाई पक्राउ गर्ने क्रममा राज्यले अनावश्यक बल प्रयोग गरेको र विरोधमा उत्रिएका एमाले नेता–कार्यकर्तामाथि पनि दमन गरिएको आरोप लगाए ।

‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन । कुन राणा शासनमा छौँ भन्ने लागेको छ सरकारलाई ?’ उनले प्रश्न गर्दै भने, ‘मलाई पक्राउ गर्दा विरोध गर्ने कार्यकर्तामाथि समेत दमन गरियो । प्रहरीलाई आखिर के भएको हो ?’

प्रहरीको भूमिकाप्रति पनि प्रश्न उठाउँदै ओलीले केही प्रहरी राजनीतिक निर्देशनमा नागरिकमाथि बल प्रयोग गर्न अग्रसर भएको टिप्पणी गरे । उनले सरकार नसच्चिए जनताले नै दमनविरुद्ध आवाज उठाउनुपर्ने अवस्था आउने चेतावनी दिए ।

ओलीले भदौ २३–२४ गते भएको जेनजी आन्दोलनलाई नेपालको इतिहासमै कल्पना गर्न नसकिने हिंसात्मक घटना भएको बताए । ‘मार्ने–मराउने, आगजनी गराउने र राज्यलाई अस्थिर बनाउने खालका गतिविधि नेपालको इतिहासमै विरलै देखिएका छन्,’ उनले भने ।

उनले तत्कालीन माओवादी सशस्त्र विद्रोहसँग तुलना गर्दै जेनजी आन्दोलनका क्रममा भएको हिंसा अझ गम्भीर रहेको दाबी गरे ।

‘माओवादीले सत्ता कब्जाका लागि हिंसात्मक बाटो रोजे पनि समाजलाई यसरी त्रसित बनाउने गतिविधि गरेको थिएन,’ उनले भने ।

ओलीले जेनजी आन्दोलनपछि वैधानिक सरकारलाई असंवैधानिक र अवैध तरिकाले विस्थापित गरिएको आरोप पनि लगाए ।

उनका अनुसार संविधानले अनुमति नदिएको प्रक्रियाबाट तत्कालीन पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सरकार परिवर्तन गरिएको थियो ।

‘वैधानिक सरकारमाथि अवैध, आतंकपूर्ण र अपराधपूर्ण गतिविधि गरियो। संविधानले गर्न नहुने भनेको काम गरेर जननिर्वाचित संसद् भंग गरियो,’ उनले आरोप लगाए ।

ओलीले वर्तमान अवस्थामा लोकतन्त्र नै संकटमा परेको दाबी गर्दै लोकतान्त्रिक मूल्य–मान्यता पुनःस्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘लोकतन्त्र अहिले कहाँ छ? लोकतन्त्र अपहरण भएको छ। अब लोकतन्त्रको पुनःस्थापना आवश्यक छ,’ उनले भने ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ५ : १९ बजे