नेपाली कांग्रेसले ‘जरा अभियान’ सम्पन्न गर्दै नयाँ सामाजिक अभियान एनसी फर एनसी नेपाली काँग्रेस फर नेशनल कजको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा पार्टीका सभापति गगनकुमार थापाले अभियान सार्वजनिक गर्दै कांग्रेस अब नागरिकको पक्षमा प्रत्यक्ष सामाजिक अभियानमार्फत अघि बढ्ने बताएका छन् ।
सभापति थापाले ‘एनसी फर एनसी’ को अर्थ ‘नेपाली कांग्रेसका लागि नेपाली कांग्रेस’ नभई राष्ट्रिय हितका लागि नेपाली कांग्रेस भएको स्पष्ट पारे ।
“हामी अब नागरिकको पक्षमा काम गर्ने अभियान सुरु गर्दैछौं । यो पार्टीका लागि मात्र होइन, राष्ट्रिय हित र समाजका लागि कांग्रेसको अभियान हो,” उनले भने ।
उनका अनुसार आगामी भदौ २४ गतेदेखि सुरु हुने अभियानअन्तर्गत कांग्रेसका प्रत्येक सदस्यले एक वर्षभित्र कम्तीमा एउटा सामाजिक काम गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ । यस अभियानमार्फत पार्टीका कार्यकर्तालाई समाजसँग प्रत्यक्ष जोड्ने र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने लक्ष्य राखिएको उनले बताए ।
यसअघि सञ्चालन गरिएको ‘जरा अभियान’ पनि बिहीबार औपचारिक रूपमा समापन गरिएको छ । पार्टीले जरा अभियानपछि बदलिएको राजनीतिक र सामाजिक परिवेशलाई मध्यनजर गर्दै ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ भन्ने नारासहित नयाँ अभियान अघि सारेको जनाएको छ ।
घोषणा कार्यक्रममा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो । कांग्रेसले नयाँ अभियानमार्फत संगठनलाई समाजसँग थप नजिक बनाउने र नागरिकका साझा मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य लिएको जनाएको छ ।





प्रतिक्रिया