अमेरिकी सेनाले इरानमा लगातार १३औँ रात पनि हवाई आक्रमण गरेको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पछिल्लो आक्रमणमा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका नियन्त्रणमा रहेको इरानको जफत सम्पत्ति जहाज, मालसामान तथा सम्बन्धित अन्य क्षतिको क्षतिपूर्ति तिर्न प्रयोग गरिने बताएका छन्। उनले यस्तो कदमलाई “न्यायोचित र उचित” भएको दाबी गरेका छन् ।
ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै इरानी विदेशमन्त्री अब्बास अराघचीले यसलाई “तनाव भड्काउने खतरनाक नजिर” भन्दै आलोचना गरेका छन् । उनले सरकारहरूले अन्य देशको सम्पत्ति जफत गर्ने अभ्यासलाई सामान्य बनाउँदा विश्वव्यापी आर्थिक अस्थिरता निम्तिन सक्ने चेतावनी दिएका छन् ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी इरानका प्रमुख सैन्य तथा व्यावसायिक क्षेत्रहरू, विशेषगरी बन्दर अब्बास बन्दरगाह र केश्म टापुमा विस्फोट भएका छन् ।
अमेरिकी केन्द्रीय कमान्डले इरानको सैन्य कमाण्ड केन्द्र, ड्रोन भण्डारण स्थल, सञ्चार सञ्जाल, तटीय निगरानी प्रणाली तथा समुद्री सैन्य क्षमतामाथि आक्रमण गरिएको जनाएको छ । अमेरिकाले यी आक्रमणहरू क्षेत्रीय समुद्री मार्गमा नागरिक जहाजहरूको सुरक्षामाथि रहेको जोखिम कम गर्न गरिएको दाबी गरेको छ ।
पछिल्लो आक्रमण यमनस्थित इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा दुईवटा साउदी तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेपछि भएको हो। यस घटनाले अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षाबारे चिन्ता बढाएको छ ।
विशेषगरी होर्मुज जलडमरूमध्य र लाल सागर क्षेत्रमा बढ्दो असुरक्षाका कारण विश्व बजारमा कच्चा तेलको मूल्य फेरि प्रतिव्यारेल १०० अमेरिकी डलर नाघेको छ, जुन मेयताकै उच्च स्तर हो ।
समाचार संस्था रोयटर्सका अनुसार जुलाई २४ मा केवल एउटा तेल ट्यांकर मात्र होर्मुज जलडमरूमध्य पार गरेको थियो, जुन मे ७ यताकै सबैभन्दा कम आवागमन हो ।
अमेरिका र इरानबीच जुन महिनामा १४ बुँदे समझदारी भएको थियो । त्यसअनुसार दुवै पक्षले सैन्य कारबाही रोक्ने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने र ६० दिनभित्र युद्ध अन्त्य गर्ने सहमति गरेका थिए ।
तर सम्झौताको तीन सातामै ट्रम्पले इरान समर्थित आक्रमणहरू पुनः सुरु भएको आरोप लगाउँदै युद्धविराम “समाप्त भएको” घोषणा गरेका थिए । त्यसपछि अमेरिकाले पुनः सैन्य कारबाही तीव्र बनाएको हो ।
सम्झौताको ११औँ बुँदामा अमेरिका नियन्त्रणमा रहेका इरानका रोकिएका वा जफत गरिएका सम्पत्ति इरानलाई उपलब्ध गराउने उल्लेख भए पनि अहिले ट्रम्पले ती सम्पत्तिबाट अमेरिकी जहाज र मालसामानमा भएको क्षतिको भुक्तानी गरिने बताएका छन् । यसले अमेरिका–इरान सम्बन्धमा थप तनाव उत्पन्न हुने संकेत देखिएको छ ।





प्रतिक्रिया