बोलबम यात्राका क्रममा झडप, प्रहरीको गोलीबाट एकको मृत्यु; देवानगञ्जमा कर्फ्यु



सुनसरीको देवानगञ्जमा बोलबम यात्राका क्रममा दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । घटनापछि सुरक्षा अवस्था नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले सुनसरीका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब साढे १० बजे बोलबम यात्रामा सहभागी एक समूह ठूलो आवाजमा गीत बजाउँदै सप्तकोशी नदीतर्फ जाँदै थियो । त्यसक्रममा अर्को समूहले होहल्लाको विरोध गरेपछि विवाद चर्किँदै झडपमा परिणत भएको थियो । झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा देवानगञ्ज–३ का ३० वर्षीय ओमप्रकाश मेहता घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

घटनामा नेपाल प्रहरीका चार, सशस्त्र प्रहरीका पाँच र प्रदर्शनकारी पक्षका नौ जना गरी १८ जना घाइते भएका छन् । प्रशासनले हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा बिहान ७ बजेदेखि अर्को सूचना नभएसम्म कर्फ्यु लागू गरेको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ७ : ५० बजे