सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सरकारले घटनालाई गम्भीर रूपमा लिँदै उच्च सुरक्षा सतर्कता अपनाएको छ । घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गर्नुका साथै आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक पनि बोलाइएको छ ।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बस्ने बैठकमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक तथा नेपाली सेनाका प्रतिनिधि सहभागी हुनेछन् । बैठकमा सुनसरी घटनासहित देशभरको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे समीक्षा गर्दै आवश्यक सुरक्षा रणनीतिबारे छलफल हुने जनाइएको छ ।
यसअघि गृहमन्त्री गुरुङले मन्त्रालयमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेललगायत सुरक्षा निकायका प्रमुखहरूसँग घटनाबारे छलफल गरेका थिए । सोही छलफलपछि घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार समितिलाई घटनाको अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा गएराति एक जनाको मृत्यु भएको थियो। घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
यद्यपि कर्फ्यु जारी रहे पनि सुनसरीका विभिन्न स्थानमा त्यसको विरोध गर्दै प्रदर्शन भएका छन् । घटनापछि जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बनेको भन्दै सरकारले सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ ।




प्रतिक्रिया