सुनसरी तनावग्रस्त : आगजनी, तोडफोड र झडप बढ्दै, कप्तानगञ्जमा सेना परिचालन



सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार भएको प्रहरी गोलीकाण्डपछि जिल्लाको सुरक्षा अवस्था थप तनावग्रस्त बनेको छ । सोमबार दिनभर विभिन्न स्थानमा प्रदर्शन, आगजनी, तोडफोड र झडपका घटना भएपछि प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।

आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनामा गोली लागेर सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको विरोधमा सोमबार बिहानैदेखि प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । प्रहरीका अनुसार आक्रोशित भीडले देवानगञ्जका विभिन्न स्थानमा तीनदेखि चार वटा घरमा आगजनी गर्नुका साथै केही पसलमा तोडफोड गरी सामान बाहिर निकालेर आगो लगाएका छन्। बजार क्षेत्रमा पार्किङ गरिएका सवारीसाधनमा समेत आगजनी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगञ्ज–२ स्थित गाउँपालिका कार्यालय अगाडि करिब १५० जनाको समूहले स्थानीय अनबर अन्सारीको घर, हार्डवेयर पसल तथा को२त ५८५२ नम्बरको ट्र्याक्टरमा आगजनी गरेको थियो । यस्तै अबाफ अन्सारीको टिनले छाएको कच्ची घर, दुई वटा मोटरसाइकल तथा देवानगञ्ज–३ कप्तानगञ्जमा रहेको परालका दुई वटा टालीमा समेत आगो लगाइएको प्रहरीले जनाएको छ ।

यसैबीच प्रदर्शनका क्रममा देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ । बजारबाट घर फर्कने क्रममा एक समूहले उनलाई नियन्त्रणमा लिएर टाउकोमा आक्रमण गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरेको छ । सेनाको उपस्थितिपछि केही समय प्रदर्शनकारीहरू तितरबितर भए पनि क्षेत्रमा अझै त्रासको अवस्था कायम रहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रदर्शनको प्रभाव सदरमुकाम इनरुवासम्म फैलिएको छ । सोमबार दिउँसो करिब १५० जनाको समूहले बजार क्षेत्रमा प्रदर्शन गर्दै एक सर्वसाधारणमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

डीजे बजाउँदै नाराबाजीसहित प्रदर्शनमा उत्रिएको समूहले इनरुवा–४ स्थित बजाज शोरुमका चार वटा झ्यालका सिसा र होर्डिङ बोर्ड फुटाएको छ । यस्तै इनरुवा–३ अदालत रोडमा रहेको म्याजिक गाडी तथा प्रहरी बिटमा पनि तोडफोड गरिएको छ ।

प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध गरेपछि यातायात सेवा प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबारको घटनापछि सोमबार बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । तर कर्फ्युका बाबजुद ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएपछि अवस्था थप जटिल बनेको हो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार जिल्लाका विभिन्न स्थानमा प्रदर्शन जारी रहे पनि सुरक्षा निकायले अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् ।

उनले कप्तानगञ्जमा नेपाली सेना परिचालनपछि अवस्था क्रमशः सामान्य बन्दै गएको भए पनि इनरुवा र पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्रमा प्रदर्शन जारी रहेको जानकारी दिए ।

स्थिति थप बिग्रिन नदिन जिल्लाका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा परिचालन गरिएको छ ।

यसैबीच सोमबार बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र सामान्य अवस्था कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ५ : १३ बजे