तनाव बढेपछि सुनसरीमा कर्फ्यु विस्तार, महेन्द्र राजमार्ग र इनरुवा बजार निषेधित क्षेत्र घोषणा



देवानगञ्जको कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्युको दायरा विस्तार गरेको छ । यसअघि दक्षिणी क्षेत्रका पाँच स्थानमा मात्रै लागू गरिएको कर्फ्यु अब महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा पनि विस्तार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालद्वारा मंगलबार जारी आदेशअनुसार अपराह्न ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ ।

आदेशअनुसार महेन्द्र राजमार्गको पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा राजमार्गको उत्तर र दक्षिणतर्फ २०० मिटर क्षेत्रभित्र, साथै इनरुवा बजार क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । त्यसयता जिल्लाका विभिन्न स्थानमा प्रदर्शन, आगजनी र तोडफोडका घटना भइरहेका छन् ।

यसअघि जारी गरिएको आदेशअनुसार हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु अझै कायम छ भने देवानगञ्ज र हरिनगर गाउँपालिकाभर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न, कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति र सुरक्षा कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ४ : ४६ बजे