प्रधानमन्त्रीको अनुपस्थितिको बचाउ गर्दै रवि लामिछानेः अहिले विवाद होइन, सद्भाव जोगाउने बेला



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनाबारे छलफल गर्न बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएको विषयलाई लिएर उठेको आलोचनाको प्रतिवाद गरेका छन् ।

बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री र गृहमन्त्री दुवैले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको दाबी गरे । उनका अनुसार सर्वदलीय बैठक सरकारको प्रतिनिधित्व गर्ने मञ्च नभई राजनीतिक दलका शीर्ष नेताहरूबाट धारणा र मार्गनिर्देशन लिनका लागि आयोजना गरिएको बैठक थियो ।

‘प्रधानमन्त्रीले गर्ने काम उहाँले गरिरहनुभएको छ । सरकारले आफ्नो काम गरिरहेको छ । अहिले आवश्यक कुरा शान्ति र सामाजिक सद्भाव कायम गर्नु हो, कसले बोल्यो वा बोल्दैन भन्ने बहस होइन,’ उनले भने ।

लामिछानेले सुनसरीमा भएको घटनालाई सबै राजनीतिक दलले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै साम्प्रदायिक प्रकृतिका घटनामा राजनीतिक मतभेदभन्दा राष्ट्रिय एकता आवश्यक हुने बताए । यस्ता घटनाबाट सबै पक्षलाई क्षति पुग्ने भएकाले सबै दल एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।

उनले वर्तमान आन्दोलनको स्वरूप विगतको भन्दा फरक रहेको भन्दै नागरिकको ज्यान गएको घटनालाई संवेदनशील ढंगले हेर्नुपर्ने बताए। साथै, घटनाबारे साझा सन्देश दिन सबै राजनीतिक दलको तर्फबाट छिट्टै संयुक्त अपिल सार्वजनिक गरिने जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ११ : ५६ बजे