बाघको संख्या ४२९ पुग्यो, तर वृद्धिदर सुस्तायो; संरक्षणसँगै व्यवस्थापनको चुनौती बढ्दै



नेपालले बाघ संरक्षणमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ । राष्ट्रिय बाघ सर्वेक्षण–२०८२ अनुसार देशमा बाघको संख्या बढेर ४२९ पुगेको छ। तर, संख्या बढे पनि अघिल्लो सर्वेक्षणको तुलनामा बृद्धिदर भने उल्लेख्य रूपमा घटेको देखिएको छ ।

विश्व बाघ दिवसका अवसरमा बुधबार सार्वजनिक गरिएको सर्वेक्षणअनुसार पछिल्लो चार वर्षमा नेपालमा ७४ वटा बाघ थपिएका छन् । २०७८ सालमा ३५५ वटा बाघ रहेकोमा अहिले संख्या ४२९ पुगेको हो ।

यसपटक चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटामा ५० वटा बाघ रहेका छन् ।

क्षेत्रगत रूपमा हेर्दा पर्सामा सबैभन्दा धेरै ३० वटा बाघ थपिएका छन्। त्यसपछि बाँकेमा २६, चितवनमा १७ र शुक्लाफाँटामा १४ वटा बाघ बढेका छन् । तर, बर्दियामा भने १३ वटा बाघ घटेको तथ्यांकले देखाएको छ ।

नेपालमा सन् २०१८ देखि २०२२ बीच बाघको संख्या २३५ बाट ३५५ पुग्दा करिब ५१ प्रतिशत वृद्धि भएको थियो । तर यसपटकको गणनामा वृद्धि २१ प्रतिशतमा सीमित भएको छ । संरक्षणविद्हरूका अनुसार नेपालको तराई क्षेत्रमा बाघ धान्ने क्षमता करिब ४०० को हाराहारी रहेको आकलन भइरहेका बेला वृद्धिदर सुस्तिनु स्वाभाविक संकेत हुन सक्छ ।

पछिल्लो गणना अत्याधुनिक क्यामेरा ट्रयापिङ विधि मार्फत गरिएको हो । करिब १,१०० वटा स्वचालित क्यामेरा र २५० जना जनशक्ति परिचालन गरी तीन महिनासम्म बाघको तस्बिर संकलन गरेर वैज्ञानिक विश्लेषणका आधारमा संख्या निर्धारण गरिएको हो ।

नेपालले सन् २०१० मा १२१, २०१४ मा १९८, २०१८ मा २३५, २०२२ मा ३५५ र अहिले ४२९ बाघ पुर्‍याउँदै विश्वमै सफल बाघ संरक्षण गर्ने मुलुकको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ ।

तर, बढ्दो बाघसँगै मानव–बाघ द्वन्द्व, बासस्थानको अभाव, चोरी सिकारी, पूर्वाधार विकासका कारण जैविक मार्गमा पर्ने असर तथा समस्याग्रस्त बाघको व्यवस्थापन जस्ता चुनौती पनि थपिएका छन् । हाल १६ वटा समस्याग्रस्त बाघ विभिन्न इन्क्लोजरमा राखिएका छन् ।

यही चुनौतीलाई सम्बोधन गर्न सरकारले चितवनको देवनगरमा ‘टाइगर सेन्चुरी’ निर्माण गर्ने योजना अघि बढाएको छ । प्राकृतिक वातावरणमा समस्याग्रस्त बाघको संरक्षण गर्दै पर्यापर्यटनलाई समेत प्रवर्द्धन गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : ३१ बजे