सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक झडपपछि उत्पन्न सुरक्षा अवस्थालाई केन्द्रमा राख्दै प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । बिहीबार सम्पन्न परिषद्को ४३औँ बैठकले घटनाको विस्तृत समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिन सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउने निर्णय गरेको हो ।
रक्षा मन्त्रालयका सचिव तथा परिषद्का सदस्य सचिव केदारनाथ शर्माका अनुसार बैठकमा सुनसरी घटनासँगै राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा परिवेशको समग्र विश्लेषण गरिएको छ ।
बैठकले प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षा निकाय र अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने गरी प्रोएक्टिभ सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ ।
साथै, मनसुनजन्य विपद्को जोखिमलाई दृष्टिगत गर्दै खोज तथा उद्धार, राहत वितरण र आपत्कालीन प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि परिषद्ले आवश्यक निर्देशन दिएको जनाएको छ ।
प्रधानमन्त्री शाहले सुनसरी घटनापछि विकसित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै परिषद्को बैठक आह्वान गरेका थिए । बैठकले सुरक्षा चुनौतीको समयमै मूल्यांकन गर्दै सम्भावित जोखिम न्यूनीकरणमा जोड दिएको छ ।





प्रतिक्रिया