नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, संयमता र राष्ट्रिय एकता कायम गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।
अध्यक्ष ओलीले बिहीबार अपिल जारी गर्दै सुनसरीको देवानगञ्जमा राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको तथा सिरहामा गोली लागेर गणेश यादवको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
ओलीले हिंसात्मक घटना रोकिनुको सट्टा थप उग्र बन्दै गएको र विभिन्न स्थानमा गोली लागेर नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् ।
अपिलमार्फत अध्यक्ष ओलीले सबै नागरिक, राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमता अपनाउन र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले जनतालाई विभाजित गरेर अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रप्रति सचेत रहन पनि सबैलाई अनुरोध गरेका छन् ।
सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले नागरिकको जीउधनको सुरक्षा गर्नु तथा संवादमार्फत समस्याको समाधान गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन् । तर, राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा पनि सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद तथा भर्त्सनायोग्य रहेको उनको भनाइ छ । उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र अविलम्ब संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।
ओलीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नरहेको उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै मुलुकलाई वर्तमान जटिल अवस्थाबाट निकास दिन सकिने बताएका छन् ।
अपिलको अन्त्यमा अध्यक्ष ओलीले राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भाव जोगाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन् ।





प्रतिक्रिया