अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै सम्झौता हुने सम्भावना देखिएपछि योजनाबद्ध सैन्य हमला रद्द गरिएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले अमेरिका इरानविरुद्ध ठूलो सैन्य कारबाहीका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको, तर कूटनीतिक सम्झौताका लागि अवसर दिन आक्रमण स्थगित गरिएको बताएका हुन् । उनले यो निर्णय इजरायलसँगको समन्वयमा गरिएको पनि उल्लेख गरेका छन् ।
ट्रम्पका अनुसार प्रस्तावित सम्झौतामा होर्मुज जलडमरूमध्य तत्काल पूर्ण रूपमा खोल्ने र इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने विषय समेटिनेछ । उनले सम्झौताका आधारभूत रूपरेखा तयार भइसकेको दाबी पनि गरेका छन् ।
उनको यो अभिव्यक्ति अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमा नयाँ र व्यापक आक्रमणको तयारी गरिरहेको भन्ने सञ्चारमाध्यमका समाचार सार्वजनिक भएपछि आएको हो ।
यद्यपि, ट्रम्पको दाबीबारे इरानले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यसअघि तेहरानले अमेरिकासँग सहकार्य गर्ने कुनै पनि क्षेत्रीय मुलुक ‘युद्धको आगोमा तानिने’ चेतावनी दिएको थियो ।




प्रतिक्रिया