प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री शाहले पनि भारतसँग नेपालको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानमा रहेका प्रधानमन्त्री शाहले सरकार गठन भएको करिब चार महिनापछि पहिलोपटक भारतीय राजदूतसँग एक्लाएक्लै भेट गरेका हुन् । यसअघि उनले भ्रमणमा आउने वरिष्ठ विदेशी अधिकारीहरूसँग समेत व्यक्तिगत भेट नगर्ने अडान राखेका थिए ।
यद्यपि, शाहले यसअघि एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग व्यक्तिगत भेटवार्ता गरिसकेका छन् । कान्डा तीनदिने भ्रमणका क्रममा गत २२ असारमा नेपाल आएका थिए ।
प्रधानमन्त्री शाहले चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई साताअघि नै दुवै छिमेकी मुलुकका राजदूतसँग भेट गर्ने तयारी भए पनि सुनसरीलगायत विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटवार्ता पछि धकेलिएको थियो ।
भारतीय र चिनियाँ राजदूतलाई एकै दिन भेट्ने प्रधानमन्त्री शाहको निर्णयले नेपालका लागि दुवै छिमेकी मुलुकको समान महत्त्व रहेको सन्देश दिन खोजिएको कूटनीतिक वृत्तमा बुझाइ छ ।





प्रतिक्रिया