विराटनगर । जिल्ला कारागार मोरङमा सोमबार बिहान सुरक्षा निकायले चलाएको ‘सर्च’ अप्रेसनलाई लिएर तनाव उत्पन्न भएको छ । विराटनगर–८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’ मा रहेका कैदीबन्दीहरू प्रशासनको विरोध गर्दै आन्दोलित भएका छन्।
कारागारभित्र आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने मागसहित उनीहरू भवनको छतमा चढेर नाराबाजीमा उत्रिएका हुन्। सुरक्षा निकायलाई प्राप्त विशेष सूचनाका आधारमा कारागारभित्र लागूऔषध लगायतका अवैध वस्तुहरू खोज्न सोमबार बिहानैदेखि व्यापक खानतलासी अभियान थालिएको थियो।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालसहितको जिल्ला सुरक्षा समितिको टोलीले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी यो अप्रेशन चलाएको हो।
घटनाबारे प्रतिक्रिया दिँदै एसपी कटुवालले यो एउटा नियमित सुरक्षा प्रक्रिया मात्र भएको बताएका छन् । उनले भने– ‘कारागारभित्र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बेला–बेलामा खानतलासी गर्ने गरिएको छ, यो सोही नियमित प्रक्रियाको निरन्तरता मात्र हो।’
खानतलासीका क्रममा केही शङ्कास्पद कैदीबन्दीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने प्रशासनको तयारी थियो। तर, कैदीबन्दीहरूको चर्को विरोध र अवरोधका कारण यो प्रक्रिया तत्कालका लागि रोकिएको छ।





प्रतिक्रिया