भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्यो, बेडको अभाव कायमै



भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको पहिचान र उपचारका लागि आउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। तर अस्पतालको क्षमता, भौतिक पुर्वाधार र उपकरण भने बिरामीको चाप बढ्दै जाँदा अपुग हुँदै गएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर बाहेक उपत्यका बाहिरबाटसमेत भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या विगतको तुलनामा दोब्बरले बढेको हो। बढ्दो बिरामीको चाप र सीमित पूर्वाधार तथा उपकरणका बीच सेवा दिइरहेको अस्पताल अहिले आफ्नै पुर्वाधार र उपकरण विस्तारको पर्खाइमा रहेको हो।

अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसे विगत एक दुई वर्षमा नै अस्पतालमा बिरामीको संख्या दुई गुणा बढी बढेको बताउँछन्। डा.चालिसेले ओपिडीमा दुई बर्ष अगाडिसम्म वार्षिक ५० देखि ६० हजारको संख्यामा बिरामी आउने गरेकोमा गत बर्षदेखि १ लाख भन्दा बढी बिरामी ओपिडीमा उपचारका लागि आएको जानकारी दिए।

‘ओपिडीमा दुई बर्ष अगाडिसम्म बर्षमा ५०।६० हजारको सङ्ख्यामा बिरामी आउने गरेकामा गत बर्ष देखि १ लाख नाघेको छ, यस बर्ष १ लाख २० हजार बिरामीले ओपिडीमा सेवा लिनु भएको तथ्यांकले देखाउँछ,’ अस्पतालका कार्यकारी निर्देशक चालिसेले भने।

अस्पतालमा वार्षिक करिब चार हजार नयाँ क्यान्सरका बिरामी उपचारका लागि थपिने गरेको उनले जानकारी दिए। अस्पतालमा हाल १५० शय्या सञ्चालनमा छन्। अस्पतालको वर्तमान क्षमताले भविष्यका लागि पर्याप्त सेवा प्रदान गर्न सकिने अवस्था नरहेको देखाउँछ। अस्पतालमा रेडियोथेरापी सेवा लिने बिरामीको संख्या पनि वार्षिक एक हजारभन्दा बढी छ।

यसले अस्पतालको मुख्य चुनौती केवल थप भवन निर्माण गर्नु मात्र नभई बढ्दो उपचार मागअनुसार समग्र स्वास्थ्य पूर्वाधार विस्तार गर्नु रहेको देखाएको शनिबार आयोजित छलफलका सहभागिहरुले बताए। छलफलमा जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरु सहभागी थिए।

छलफलमा सहभागीहरूले अस्पताल विस्तारलाई टुक्रे योजनाभन्दा एकीकृत गुरुयोजनाका आधारमा अघि बढाउनुपर्ने धारणा राखेका हुन्। उनीहरूले शय्या थप्ने, अत्याधुनिक उपकरण भित्र्याउने, रेडियोथेरापी तथा केमोथेरापी सेवा विस्तार गर्ने, प्रयोगशाला सुदृढ गर्ने र दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

अन्तरक्रिया अस्पतालको वर्तमान अवस्थादेखि दीर्घकालीन विकास योजनासम्म छलफल भएको थियो भने क्यान्सर उपचार महँगो र लामो प्रक्रिया हुने भएकाले पूर्वाधार विस्तारसँगै सर्वसाधारणले सहज र सस्तो उपचार पाउने व्यवस्था पनि उत्तिकै महत्वपूर्ण रहेको औंल्याइएको थियो।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ३ : ४४ बजे