रसुवाको बाढीमा सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन



धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिम प्रदेशका ८५ जना सम्पर्कविहीन भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी पनि रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार सम्पर्कविहीन हुने चार जना सुरक्षाकर्मी छन् । उनीहरूमध्ये तीन जना नेपाल प्रहरी र एक जना सशस्त्र प्रहरीका छन् ।

जिल्लागत रूपमा सबैभन्दा धेरै कञ्चनपुरका २९ जना सम्पर्कविहीन भएका छन्। यस्तै कैलालीका २०, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका ४, डोटीका २ र अछामका १ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुने अधिकांश रसुवामा सञ्चालित विभिन्न जलविद्युत आयोजनामा काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ। केही सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थामा कार्यरत व्यक्तिहरू पनि सम्पर्कविहीन भएका छन्।

एसएसपी विष्टका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ। जिल्लाबाट थप विवरण सङ्कलन भइरहेको भन्दै उनले सम्पर्कविहीनको सङ्ख्या बढ्न सक्ने बताए।

प्रदेश प्रहरीले रसुवामा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे जानकारी सङ्कलन गर्दै परिवारसँग समन्वय गरिरहेको जनाएको छ । बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा भौतिक संरचनामा समेत ठुलो क्षति पुगेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहिबार  १ : २९ बजे