काठमाडौं। वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरो प्रभावित क्षेत्रको वास्तविक अवस्था मूल्याङ्कन गर्दै सम्बन्धित सबै तहका सरकार र सरोकारवालाबीच प्रभावकारी समन्वय गर्नुपर्ने बताएका छन् । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट क्षति पुगेका धादिङका गल्छी, बैरेनी, धादिङबेँसीलगायत विभिन्न क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधनसँगै सडक तथा यातायात सञ्चालन र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन् ।
पूर्वमुख्यमन्त्री सालिकराम जम्कट्टेल, प्रतिनिधिसभा सदस्य डा. पुष्प कँडेललगायत जनप्रतिनिधिसहित प्रभावित क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री थापा मगरले बाढी तथा पहिरोबाट भएको क्षति, स्थानीय अवस्था, सडक तथा पूर्वाधारमा पुगेको क्षति र तत्काल आवश्यक राहतका विषयमा जानकारी लिएका थिए । स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले भने,“स्थलगत अवस्थाको वास्तविक मूल्याङ्कन र सम्बन्धित सबै तहका सरकार तथा सरोकारवालाबीचको प्रभावकारी समन्वय नै अहिलेको मुख्य आवश्यकता हो।”
उनले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी तत्काल राहत उपलब्ध गराउने तथा अवरुद्ध सडक र यातायात सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको बताए । “प्रभावित नागरिकको आवश्यकता पहिचान गर्दै तत्कालीन राहत, सडक तथा यातायात सुचारु गर्ने कार्य र आगामी पुनर्स्थापनाका लागि आवश्यक समन्वयलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौँ,” उनले भने ।
मुख्यमन्त्री थापा मगरले स्थलगत निरीक्षणबाट प्राप्त विवरणका आधारमा प्रभावित क्षेत्रको वास्तविक क्षतिको मूल्याङ्कन गरी आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरेका छन् । निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकायका अधिकारी तथा स्थानीयवासीसँग बाढीपहिरोबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था र तत्काल आवश्यक सहयोगका विषयमा समेत छलफल गरिएको थियो।




प्रतिक्रिया