काठमाडौँ । परराष्ट्र मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रका सुरुङहरूमा भएको उद्धार र मानवीय क्षतिको यकिन विवरण सङ्कलन भइरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उद्धार कार्य र आगामी कार्ययोजनाबारे जानकारी दिएका हुन्।
उद्धार कार्यमा प्रयोग भइरहेका मेसिनरी तथा उपकरणहरूको अभाव र गुणस्तरबारे सोधिएको प्रश्नमा प्रवक्ता क्षेत्रीले उपकरणको आवश्यकता महसुस गरी थप सहयोगका लागि साझेदार निकायहरूसँग अनुरोध गरिएको जानकारी दिए। प्रयोगमा रहेका उपकरणहरू बिग्रिएको वा काम नलाग्ने अवस्थामा रहेको भन्नेबारे मन्त्रालयलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको उनले स्पष्ट पारे।
सुरुङभित्रबाट कति श्रमिकको उद्धार गरियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता क्षेत्रीले भने, ‘सुरुङ र त्यसको वरपरको क्षेत्रबाट शवहरू निकालिएको रिपोर्ट प्राप्त भए पनि ती सुरुङभित्रका हुन् वा बाहिरका हुन् भन्नेबारे मन्त्रालयले विवरण अद्यावधिक गरिरहेको छ। सम्बन्धित निकायबाट आधिकारिक जानकारी प्राप्त हुनासाथ यसबारे थप प्रष्ट पारिनेछ।’
पुनर्निर्माणका विषयमा बोल्दै उनले थपे, ‘कुन क्षेत्र बसोबासयोग्य छ र कुन छैन भन्ने विषयमा सम्बन्धित निकायहरूले अध्ययन गरिरहेका छन्। खोज र उद्धारको कार्य सकिएपछि मात्र उत्थानशील पुनर्निर्माणको योजनाअनुसार विस्तृत अध्ययन अघि बढाइनेछ।’
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र भविष्यमा बसोबासको सम्भाव्यताबारे बोल्दै प्रवक्ता क्षेत्रीले हाल सरकारको मुख्य प्राथमिकता खोज तथा उद्धारमा रहेको बताए। प्रभावित कतिपय क्षेत्रहरू बसोबासका लागि असुरक्षित हुन सक्ने चर्चा चले पनि यसबारे दोस्रो चरणमा प्राविधिक अध्ययन गरिने उनले जानकारी दिए।





प्रतिक्रिया