एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग



काठमाडौं । भोटेकोशी बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ । यस कठिन समयमा एफवानसफ्ट ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र इसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उद्धार कोषमा १ करोड ३५ लाख सहयोग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरूसँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले यो योगदान गरिएको कम्पनीको भनाई छ । यस्तै, कम्पनीले फोनपे र इसेवामार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

कम्पनीका अनुसार,  हालसम्म इसेवाका १,२९,०१३ प्रयोगकर्ताले ९ करोड ७० लाख सहयोग गरेका छन् भने फोनपेका ८,६२,४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड सहयोग गरेका छन् । फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ । भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९,८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २,९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

संस्थाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै यस कठिन समयबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ । साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति एफवानसफ्ट ग्रुपले हार्दिक आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ११ : १४ बजे