सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोबाट पक्राउ



वीरगञ्ज । सरकारी गाडी स्कोर्पियो लिएर क्यासिनो पुगेका पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन् । उनी गएराति वीरगञ्जको गण्डकमा रहेको क्लार्क रिसोर्टको क्यासिनोबाट पक्राउ परेका हुन् ।

गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियो लिएर यादव क्यासिनो पुगेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले बताए । उनका अनुसार नियमित छड्के चेकजाँचको क्रममा प्रहरी क्यासिनो पुगेको थियो ।

क्यासिनोबाट यादवसहित आठ जनालाई नियन्त्रणमा लिइएको मल्लले बताए । सरकारी सवारीसाधन प्रयोग गरी जनप्रतिनिधि क्यासिनो परिसरमा पुगेको विषयलाई गम्भीर रूपमा लिएको मल्लले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ९ : ३१ बजे