काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आन्तरिक सांगठनिक कार्य र राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन्।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्। पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै उनले अहिलेको संकटपूर्ण घडीमा राजनीतिक जोडघटाउभन्दा जनसेवा महत्त्वपूर्ण रहेको स्पष्ट पारे।
बाढी र पहिरोका कारण ठूलो क्षति व्यहोरेका धादिङ, रसुवा र नुवाकोट लगायतका जिल्लामा प्रभावित नागरिकको सहयोगका लागि पार्टी पंक्ति फिल्डमा खटिएको उनले जानकारी दिए। स्थलगत रूपमा प्राप्त तथ्य र विवरणका आधारमा कांग्रेसले आगामी कार्ययोजना तय गरी निरन्तर काम गर्ने थापाको भनाइ छ।
‘नेताहरूसँगको संवादभन्दा पीडितको समस्या महत्त्वपूर्ण’
पार्टीभित्रका पछिल्ला राजनीतिक भेटघाटहरूबारे स्पष्ट पार्दै थापाले भने, ‘शेरबहादुर देउवा, डा. शेखर कोइराला र पूर्णबहादुर खड्का लगायतका नेताहरूसँगको संवाद र भेटघाटलाई सञ्चारमाध्यमले चासोका साथ हेर्नु स्वाभाविक हो। तर मेरो लागि ती संवादभन्दा अहिले धादिङ, रसुवा र नुवाकोटका पीडित नागरिकको समस्या समाधान र उहाँहरूसँगको संवाद बढी महत्त्वपूर्ण छ।’
महाविपद्को यो घडीमा यस वर्षको दशैँ, तिहारलगायतका कुनै पनि चाडपर्वमा विश्राम नलिई काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। ‘यसपटक हामीलाई कुनै पनि चाडपर्वले छुँदैन,’ सभापति थापाले अगाडि भने, ‘सर्वस्व गुमाएका पीडितहरूको साथमा रहेर हामी निरन्तर काम गर्नेछौँ।’





प्रतिक्रिया