धनसारमा इभी र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक जना गम्भीर घाइते



रौतहट । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसारमा इभी गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाका २० वर्षीय सन्देश यादव रहेका छन् । दुर्घटनामा घाइते कटहरिया नगरपालिका–८ बलुवा टोलका २० वर्षीय राजगीर यादवको वीरगञ्जमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बुधबार साँझ गुजरा नगरपालिका–३ स्थित धनसार गेटबाट करिब एक किलोमिटर दक्षिण कल्भर्ट नजिक दुर्घटना भएको हो । निजगढतर्फबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०५९५ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको बा ८५ प ४६२५ नम्बरको मोटरसाइकल आमनेसामने ठोक्किएका थिए ।

दुर्घटनामा सन्देशको हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । राजगीरको दाहिने हात, दुवै खुट्टा तथा शरीरका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर रादेसकुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुवै घाइतेलाई उद्धार गरी चन्द्रपुरस्थित शिविल अस्पताल पुर्‍याएको थियो ।

उपचारकै क्रममा साँझ करिब ७ बजे सन्देशको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचारपछि राजगीरलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ११ : ३१ बजे