आन्तरिक मतभेद बिर्सेर एकताका साथ अघि बढ्न ओलीको निर्देशन



काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँगको भर्चुअल सम्बोधनमा अध्यक्ष ओलीले संगठनलाई थप सक्रिय बनाउँदै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए। पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने उनको भनाइ छ।

शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ,’ अध्यक्ष ओलीले भने, ‘सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ।’

उनले एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको उनको भनाइ थियो।

वर्तमान राजनीतिक परिस्थितिमा एमालेले लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए। आगामी निर्वाचनमा केन्द्रित भएर संगठन परिचालन गर्न आग्रह गरे।

एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरण प्रस्तुत गरे। ‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ। सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ ओलीले भने।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ४ : ५० बजे