काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले जनताको जीवनस्तर सुधार र राष्ट्रिय समुन्नति नै अबको कांग्रेसको मुख्य एजेन्डा हुनुपर्ने बताए ।
महामन्त्री घिमिरेले लामो समयसम्म लोकतन्त्रको रक्षाका लागि कांग्रेसले सङ्घर्ष गरेको स्मरण गर्दै भने, ‘लोकतन्त्र भनेको केबल व्यवस्था मात्र होइन, नागरिकको जीवन बदल्ने माध्यम पनि हो । छिमेकी मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्धले मात्र हाम्रो लोकतन्त्रलाई थप सबल बनाउन सक्छ। तर, हामीले लोकतन्त्रको रक्षा गर्दागर्दै पनि जनताका मनमा उठेका प्रश्नहरूको समुचित जवाफ दिन सकेनौँ, यो हाम्रो आत्म समीक्षाको विषय हो।’ आफ्नो सम्बोधनका क्रममा घिमिरेले वर्तमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गरे ।
हामीले बुढेसकाललाई सम्मानित बनाउन सकेनौँ र युवालाई समुन्नतिको स्पष्ट बाटो देखाउन सकेनौँ। अबको राजनीति केवल सत्ता र औपचारिकतामा मात्र सीमित हुनुहुँदैन,’ घिमिरेले भने । उनले १५औँ महाधिवेशनलाई नयाँ सङ्कल्पको अवसरका रूपमा लिन आग्रह गर्दै राजनीतिको केन्द्रमा सधैँ जनता र राष्ट्र हुनुपर्नेमा बताए ।
महाधिवेशनपछि कांग्रेस नयाँ जोस, जाँगर, कार्ययोजना र उत्साह बोकेर जनताको घरदैलोमा पुग्ने महामन्त्री घिमिरेले उद्घोष गरे । ‘नेपाललाई संसारकै सुखी मुलुक बनाउने दिशामा हामी अगाडि बढ्नेछौँ। यसका लागि आवश्यक ठोस कार्य योजनासहित महाधिवेशनबाट आएको नयाँ उत्साह लिएर हामी गाउँ–गाउँमा जान्छौँ,’ घिमिरेले भने ।
परम्परागत शैलीको राजनीतिले अबको आवश्यकता पूरा गर्न नसक्ने बताए । घिमिरेले भने, ‘हामीले औसत राजनीतिलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्छ। १५औँ महाधिवेशन कांग्रेसका लागि मात्र होइन, देशका लागि पनि नयाँ उमङ्ग र रूपान्तरणको सुरुवात बन्नुपर्छ।’





प्रतिक्रिया