हिमपातले लिमी र हिल्सामा यातायात सेवा अवरुद्ध



काठमाडौं : हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको न्यालु र नारा लेकमा बाक्लो हिउँ जमेपछि लिमी र हिल्सातर्फको यातायात सेवा अवरुद्ध भएको छ । सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सेवा सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।

नाम्खा गाउँपालिका–५ को न्यालु र वडा नं ६ को नारा लेक हुँदै लिमी प्रवेश गर्ने सडकमा साढे तीन फिटभन्दा बढी हिउँ जमेको छ । असोजको पहिलो सातादेखि नै लिमीको आवागमन बन्द भएपछि स्थानीयवासीलाई अत्यावश्यक कामका लागि समेत बाहिर जान समस्या भएको लिमी–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

उनका अनुसार लिमीमा कोही बिरामी परे वा अन्य अत्यावश्यक कामका लागि बाहिर जानुपरे हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था छ । दसैँ–तिहार नजिकिँदै गर्दा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई समेत घर फर्किन समस्या भएको उनले बताए ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ९ : ४७ बजे