इजरायल पठाइदिने भन्दै ठगिएका व्यक्तिलाई जाहेरी दिन सीआईबीको आह्वान



काठमाडौं । इजरायलमा रोजगारीका लागि पठाइदिने भन्दै रकम असुली ठगी गरिएको घटनामा पीडितलाई नेपाल प्रहरीले जाहेरी दिन आह्वान गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको सूचनामार्फत यस्तो ठगीमा परेका व्यक्तिलाई आवश्यक प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरेको हो।

सरकार–सरकारबीचको सम्झौताअनुसार इजरायलमा केयरगिभरका रूपमा रोजगारीका लागि भएको परीक्षामा उत्तीर्ण भएर ‘होल्ड’ सूचीमा रहेका युवालाई लक्षित गरी ठगी गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा रामेछापका भरत चौलागाईँ, बालिका शिवाकोटीसहित चारजनाविरुद्ध प्रहरीले उजुरी आव्हान गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ४ जना पक्राउ परिसकेको भन्दै आवश्यक प्रमाणसहित यथाशीघ्र जाहेरी दरखास्त दिन भनेको हो ।

रामेछाप, सुनापति गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्दै आएका ५९ वर्षीय चौलागाईँ कांग्रेस नेतासमेत हुन् । बालिका कांग्रेससम्बद्ध प्रेस युनियनकी केन्द्रीय सदस्य हुन् ।

प्रहरीका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले आफूहरूको उच्च सरकारी तहसम्म पहुँच रहेको र विशेष प्रक्रियाबाट होल्डमा रहेका परीक्षार्थीलाई इजरायल पठाइदिने भन्दै पीडितसँग रकम लिएका थिए। त्यसका लागि सरकारी कार्यालयसँग सम्बन्धित कागजातसमेत देखाएर विश्वासमा पार्ने प्रयास गरिएको अनुसन्धानबाट खुलेको छ।

यसरी प्रलोभनमा पारेर ठूलो रकम उठाइएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ। अनुसन्धानका क्रममा केही व्यक्तिलाई पक्राउ गरी उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म प्राप्त विवरणमा १५६ जना व्यक्तिसँग ठूलो रकम उठाइएको देखिएको छ। उनीहरूबाट संकलित रकम करोडौं रुपैयाँ रहेको अनुसन्धानबाट खुलेको छ।

सीआईबीले यस घटनामा आफू पनि पीडित भएको भए सम्बन्धित कागजात, रकम बुझाएको प्रमाण तथा अन्य उपलब्ध प्रमाणसहित ब्युरोमा उपस्थित भई जाहेरी दिन आग्रह गरेको छ। प्रहरीले जाहेरीका आधारमा ठगीमा संलग्न अन्य व्यक्तिको पहिचान तथा उनीहरूको भूमिकाबारे समेत अनुसन्धान अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १ : ५६ बजे