काठमाडौँ : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि मलेसिया सरकारले नेपाललाई १० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराएको छ ।
मलेसियाका विदेशमन्त्री दातो सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनले बिहीबार नेपालका लागि कार्यवाहक राजदूत मुदिता बज्राचार्यलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ ।
चेक हस्तान्तरणका क्रममा विदेशमन्त्री हाजी हसनले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपाली नागरिकप्रति समवेदना प्रकट गरे ।
कार्यवाहक राजदूत बज्राचार्यले बाढीपछिको पुनर्लाभ तथा पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग गरेकोमा मलेसिया सरकारलाई धन्यवाद दिइन् ।
मलेसियाले यसअघि घोषणा गरेको सहयोग अहिले औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।





प्रतिक्रिया