काठमाडौँ : बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
आज (कात्तिक ७ गते) करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बाप्र ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बाप्र ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्।
बाप्र ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलाली धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीलाई उपचारका क्रममा १०ः८ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।
सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ भने घाइते कार चालक डोटी, साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचार भइरहेको छ।
त्यस्तै, बाप्र ०१–०३० च ८४९६ नम्बरको कारमा सवार दाङ घोराही उपमहानगरपालिका–७ बस्ने ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
८४९६ नम्बरको कारका चालक दाङ घोराही उपमहानगरपालिका–७ सौरियार बस्ने करिब ४० वर्षीय सम्राट नाथ योगीलाई चोटपटक नलागेको र इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण अवरुद्ध सडक १०ः१५ बजे पूर्ण रूपमा सञ्चालनमा आएको छ।





प्रतिक्रिया