राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजा अर्चना



भक्तपुर : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजा अर्चना गरेका छन् । भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपरान्ह पुग्दा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए ।

सो अवसरमा परम्परागत रूपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुको साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे । यहाँ ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरा सुन्दरी र भद्रकाली नवदेवीको पूजा गरिन्छ ।

सो अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गरेका थिए । दसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, आइतबार  ४ : ४७ बजे