काठमाडौँ : बर्दियामा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। राजापुर नगरपालिका–३, सेन्द्राका २५ वर्षीय राजेन्द्र थारु आफ्ना ५० वर्षीय बुवा कालुराम थारुको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रेशम बोहराका अनुसार आइतबार राति करिब ११ बजे मदिराले मातेका राजेन्द्रले बुवा कालुराममाथि निर्घात कुटपिट गरेका थिए।
कुटपिटका क्रममा हातको बालाले कालुरामको टाउकोमा चोट लागेको थियो।
घाइते कालुरामलाई प्रहरीले उद्धार गरी उपचारका लागि सुरूमा प्राथमिक स्वास्थ्य केन्द्र राजापुर पुर्याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहान १ बजेपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर गरिएको थियो।
त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहान पौने ५ बजेतिर नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा लगिएको थियो। सोही अस्पतालमा उपचारका क्रममा कालुरामको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय राजापुरबाट राति घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक जनकजंग रावतका अनुसार बाबुछोराबीच यसअघि पनि घरव्यवहारका विषयमा झगडा हुने गरेको थियो।
आइतबार राति बाबुछोरा दुवैले मदिरा सेवन गरेका थिए। सोही क्रममा आपसमा भनाभन भएपछि छोराले मुक्का प्रहार गर्दा बुवालाई गम्भीर चोट लागेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया