कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू राजनीतिमा आएको बताएका छन्। पोखरामा मङ्गलबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोग्नुपरेको कठिनाइ नजिकबाट देखेको स्मरण गरेका हुन् ।
त्यही अनुभवले आफूभित्र राजनीतिक चेतना र स्वतन्त्रताको पक्षमा उभिने प्रेरणा जगाएको उनले बताए। बाल्यकालमा रामचन्द्र पौडेललगायतका नेताहरू राति आफ्नो घरमा आउने गरेको उनले स्मरण गरे।
आफू १०-११ वर्षको हुँदा ती नेताहरू किन राति आउँथे, किन रातभरि घरमा बस्थे र उज्यालोमा खुलेर हिँड्न सक्दैनथे भन्ने कौतूहलता जागेको उनले बताए। स्वतन्त्रता र लोकतान्त्रिक मूल्यप्रतिको त्यही भावनाले आफूलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको उनको भनाइ छ। राजनीतिक आन्दोलनका क्रममा नेताहरूले भोगेका दुःख, सङ्घर्ष र त्यागलाई नयाँ पुस्ताले बुझ्नुपर्ने उनले बताए।
मुख्यमन्त्री पाण्डेले भने, ‘म १०-११ वर्षको उमेरको हुँदा रामचन्द्र दाइलगायतका नेताहरू राति घरमा आउने र उज्यालो भएपछि मात्र निस्कने गर्नुहुन्थ्यो। उहाँहरू किन राति मात्र आउने र दिउँसो खुलेर हिँड्न नसक्ने भन्ने कौतूहलता मलाई लाग्थ्यो। पछि बुझ्दै जाँदा उहाँहरूले खुलेर बोल्न, हिँड्न र आफ्ना विचार राख्न पाउने अवस्था नरहेछ भन्ने थाहा पाएँ। यही अनुभवले मलाई हरेक नागरिकले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न, लेख्न र विचार व्यक्त गर्न पाउनुपर्छ भन्ने प्रेरणा दियो र म राजनीतिमा आएँ। यो पुस्तक पनि प्रेरणाको स्रोत बन्नेछ। काँग्रेसमा धेरै साथीहरूले जेलनेल सहनुभयो, त्याग र तपस्या गर्नुभयो तर कुनै राजकीय पद पाउनुभएन। त्यसैले पद र अवसर पाएकाहरूलाई मात्र होइन, लामो समयदेखि योगदान दिँदै आएका तर अवसर नपाएका साथीहरूलाई पनि सम्झनुपर्छ। उहाँहरूको योगदानको सम्मान गर्न सके मात्र वास्तविक आत्मसन्तुष्टि मिल्छ।’
पाण्डेले पार्टीका लागि जेलनेल भोगेका, लामो समय सङ्घर्ष गरेका र निरन्तर योगदान दिएका कतिपय नेता तथा कार्यकर्ताले पद प्राप्त नगरे पनि उनीहरूको योगदानलाई बिर्सन नहुने बताए।





प्रतिक्रिया