सरकारले एनप्याब्सनलाई गर्‍यो निलम्बन



सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि संस्थालाई निलम्बन गरिएको जनाएको हो ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयले दिएको निर्देशन बारम्बार पालना नगरेको भन्दै एनप्याब्सनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका कार्यसमेत गरेको पाइएको छ ।

यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षलाई छलफलमा बोलाएर राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनबमोजिमका कार्य गर्न आग्रह गरेको थियो । तर, त्यसअनुसार काम भएको नदेखिएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ६ को उपदफा (२) अनुसार एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार  ५ : ३४ बजे