आईक्यापको १३औँ महासभामा नेपालका चार राजनीतिक दल सहभागी हुँदै



काठमाडौँ, कात्तिक १५- एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज–आईक्याप) को १३औँ महासभामा नेपालका चार प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने भएका छन्। महासभा नोभेम्बर ४ देखि ७ सम्म दक्षिण कोरियाको राजधानी सोलमा आयोजना हुँदैछ।

महासभामा ३६ देशका करिब ९० राजनीतिक दलका ३०० सय प्रतिनिधि सहभागि हुँदैछन । यसले एसियाली तथा अन्य क्षेत्रका राजनीतिक दलहरूबीच विचार आदानप्रदान, आपसी सम्बन्ध विस्तार र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चुनौतीबारे छलफल गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्नेछ।

महासभामा नेपालका चार राजनीतिक दलबाट सात जना प्रतिनिधि सहभागी हुनेछन्। सहभागीमध्ये नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीबाट दुई–दुई जना तथा नेकपा (एकीकृत समाजवादी) बाट एक जना रहेका छन्।

नेकपा (एमाले) का तर्फबाट पार्टी सचिव तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई र पार्टीको विदेश विभागका सदस्य डा. गोपाल खनाल सहभागी हुनेछन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महामन्त्री विपिनकुमार आचार्य र कृपा महर्जन सहभागी हुनेछन्। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपालले उक्त पार्टीको प्रतिनिधित्व गर्नेछन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र शैलेन्द्रमोहन झा पनि महासभामा सहभागी हुनेछन्।

यसपटकको महासभामा नेपाली कांग्रेसको भने प्रतिनिधित्व नहुने भएको छ। यसअघि आईक्यापका विभिन्न महासभा तथा बैठकहरूमा नेपाली कांग्रेस सक्रिय रूपमा सहभागी हुँदै आएको थियो। कांग्रेस आईक्यापको संस्थापक सदस्यसमेत हो। आईक्यापका स्थायी समिति अध्यक्ष चुङ ई योङले सोलमा हुने महासभामा सहभागी हुन नेपाली कांग्रेसको नेतृत्वलाई निमन्त्रणासमेत दिएका थिए।

यसैबीच, नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले कोरिया भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनुअघि नेपालको परराष्ट्र नीति तथा प्राथमिकताबारे जानकारी गराउने कार्यक्रम रहेको छ। उक्त ब्रिफिङमा समसामयिक कूटनीतिक विषय र अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको दृष्टिकोणबारे छलफल हुने अपेक्षा गरिएको छ।

सन् २००० को सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा स्थापना भएको आईक्याप एसियाली राजनीतिक दलहरूबीच वैचारिक भिन्नताभन्दा माथि उठेर संवाद, सहकार्य र आपसी समझदारी प्रवर्द्धन गर्ने उद्देश्यले गठन गरिएको अन्तर्राष्ट्रिय मञ्च हो। यसको पहिलो सम्मेलनमा २१ एसियाली देशका ४० राजनीतिक दल सहभागी भएका थिए। यसको सचिवालय दक्षिण कोरियाको सोलमा रहेको छ।

आईक्यापले सरकारमा रहेका तथा प्रतिपक्षमा रहेका राजनीतिक दलहरूलाई एउटै मञ्चमा ल्याएर आपसी संवाद र सहकार्यको अवसर प्रदान गर्दै आएको छ। यसले क्षेत्रीय शान्ति, स्थायित्व, आर्थिक सहकार्य, लोकतान्त्रिक विकास र जनस्तरको सम्बन्ध विस्तारलाई प्राथमिकता दिँदै आएको छ।

१३औँ महासभामा समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, बदलिँदो भूराजनीतिक अवस्था, आर्थिक सहकार्य र राजनीतिक दलहरूबीचको सम्बन्ध सुदृढीकरणलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

महासभासँगै आईक्यापको मिडिया फोरमको बैठकसमेत आयोजना हुनेछ। उक्त बैठकमा क्षेत्रीय समझदारी, सहकार्य र सार्वजनिक संवाद प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिकाबारे छलफल हुनेछ।

महासभाको अन्त्यमा सहभागी राजनीतिक दलहरूको साझा धारणा, प्रतिबद्धता र सहकार्यका क्षेत्रहरू समेटिएको ‘सोल घोषणापत्र’ जारी गरिने अपेक्षा गरिएको छ।

नेपालका विभिन्न राजनीतिक दलहरूको सहभागिताले अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध विस्तार, समसामयिक भूराजनीतिक विषयमा विचार आदानप्रदान तथा द्विपक्षीय पार्टीगत सम्बन्ध विकासका लागि अवसर प्रदान गर्नेछ। यसले नेपालको औपचारिक सरकार–सरकारबीचको कूटनीतिसँगै राजनीतिक दलहरूबीचको कूटनीतिक सम्बन्धको महत्वसमेत उजागर गर्नेछ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, शनिबार  ४ : १८ बजे