उदयपुर : त्रियुगा नगरपालिकामा २७ भूमिहीन परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । नगरपालिकाको वडा नम्बर ३ र ५ का २७ परिवारलाई बिहीबार लालपुर्जा वितरण गरिएको हो ।
त्रियुगा नगरपालिकाको कार्यालयमा आयोजित समारोहमा प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले भूमिहीन दलित परिवारलाई पुर्जा हस्तान्तरण गरे ।
पहिलो चरणमा त्रियुगा नगरपालिका–३ का १३ र वडा नम्बर ५ का १४ भूमिहीन दलित परिवारलाई पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि आयोग उदयपुरले कानुनी प्रक्रिया पूरा गरेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले जानकारी दिए ।
लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीयले लालपुर्जा पाएसँगै जग्गामा कानुनी अधिकार प्राप्त गरेका छन् । सरकारी लक्ष्यअनुसार पुर्जा वितरणलाई तीव्रता दिइएको जिल्ला भूमि आयोग उदयपुरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए।
स्थानीय तहले जग्गाको नापजाँच गरी आवश्यक कागजात तयार पार्छन् । त्यसपछि आयोगले कागजातको अध्ययन तथा कानुनी प्रक्रिया पूरा गरी अन्तिम स्वीकृति दिएपछि जग्गाधनी पुर्जा वितरण गरिन्छ ।
प्रजिअ शाहीका अनुसार शुक्रबार कटारी नगरपालिकामा ११ घरपरिवारलाई र रौतामाई गाउँपालिका–७ मा ६५ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएको बताए ।
चौदण्डीगढी नगरपालिकामा ३२ र बेलका नगरपालिकामा ४५ घरपरिवारको लालपुर्जा वितरणका लागि तयार गरिएको उनले जानकारी दिए ।
“लालपुर्जा तयार भएका पालिकालाई वितरण प्रक्रिया अघि बढाउन भनेका छौँ । अन्य पालिकाबाट आएका कानुनी प्रक्रिया पूरा भएका कागजातको पनि अध्ययन भइरहेको छ,” शाहीले भने । भूमि आयोगका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढिरहेको छ । कानुनी प्रक्रिया पूरा भएका परिवारलाई क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने आयोगले जनाएको छ ।





प्रतिक्रिया