विराटनगर : आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीले ‘क्यान्डिडेट क्लब’ मा दर्ता हुन आह्वान गरिसकेको छ । नेता तथा कार्यकर्ताले आफूखुसी उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
क्लबमा आवेदन दिएकै भरमा आकांक्षीहरूले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्न थालेपछि रास्वपा कोशी प्रदेशले अत्यन्त जरुरी सूचना जारी गर्दै यस्ता गतिविधि नगर्न कडा निर्देशन दिएको छ।
रास्वपा कोशी प्रदेशका महामन्त्री निरज कटुवालले यसरी आफूखुसी उम्मेदवारी घोषणा गरे पार्टीको साधारण सदस्यता नै खारेज हुन सक्ने चेतावनी दिएका छन्। पार्टीको विधान तथा आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई कडा कारबाही गरिने उनले स्पष्ट पारे।
‘क्यान्डिडेट क्लबमा निवेदन दिनु उम्मेदवारी घोषणा होइन,’ उनले भने, ‘पार्टीको निर्देशनविपरीत उम्मेदवारी घोषणा गरेमा उम्मेदवारी खारेजी, छनोट प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट मुक्ति र पार्टीको साधारण सदस्यता नै समाप्त गर्नेसम्मको कारबाही हुनेछ।’
सूचनामा पार्टीको विधिभन्दा माथि रहने छुट कसैलाई नभएको स्पष्ट पारिएको छ। विधिको शासन, आन्तरिक लोकतन्त्र र संस्थागत मर्यादालाई पूर्ण रूपमा आत्मसात गर्न सम्पूर्ण सदस्य तथा आकांक्षीहरूलाई कडा निर्देशन दिइएको छ।
महामन्त्री कटुवालद्वारा जारी सूचनामा आगामी निर्वाचन तथा अधिवेशनलाई लक्षित गरी मुख्य ३ विषयमा कडा गरिएको छ ।
क्यान्डिडेट क्लबमा आवेदन दिनु नै उम्मेदवारीको अन्तिम सुनिश्चितता नभएकाले आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने वा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रचारप्रसार गर्ने कार्यलाई पूर्ण रूपमा विधिविपरीत ठहर्याइएको छ। यस्ता भ्रामक सामग्रीहरू प्रकाशित वा सेयर गर्न नपाइने र गरिसकिएको भए तत्काल हटाउन रास्वपाले भनेको छ ।
उम्मेदवार छनोट प्रक्रियामा व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब वा धम्की स्वीकार नगरिने प्रष्टोक्ति दिइएको छ । यसैगरी, निर्वाचन प्रभावित पार्ने नियतले गरिने आर्थिक लेनदेन, उपहार प्रदान, भोजभतेर वा शक्तिको दुरुपयोग निषेध गरिएको छ।
पार्टीका सम्पूर्ण आन्तरिक दस्तावेज, निर्णय, छलफल र व्यक्तिगत विवरणको पूर्ण गोपनीयता कायम राख्न निर्देशन दिइएको छ।
क्यान्डिडेट क्लबमा निवेदन दिएका कोशीका पालिकाका प्रमुख-उपप्रमुखका आकांक्षीहरूले सूची ‘नेपाल प्रेस’ मा सार्वजनिक भएको थियो । लगत्तै रास्वपाले यस्तो सूचना निकालेको हो ।





प्रतिक्रिया