देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन युवती पक्राउ



रुपन्देही । देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रस्तुत गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन युवतीलाई पक्राउ गरेको छ।

सिद्धार्थनगर नगरपालिका–७ स्थित कञ्चनबजारमा बुधबार सार्वजनिक स्थानमा भएको देउसीभैलो कार्यक्रममा सामाजिक मर्यादाविपरीतको प्रस्तुति दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–८ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर रहेका छन्। वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तीनै जनामाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।

यसअघि पनि रुपन्देहीमा यस्तै आरोपमा दुई महिला पक्राउ परेका थिए। इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत थिए।

देउसीभैलोका नाममा सामाजिक मर्यादाविपरीतका प्रस्तुति भइरहेको भन्दै आलोचना बढेपछि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको जनाएको छ। मौलिक कला, संस्कृति र पर्वको गरिमा कायम राख्न प्रहरीले सबैलाई आग्रहसमेत गरेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ६ : ३७ बजे