काठमाडौँ : काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
मंगलबार अन्दाजी ३ बजेको समयमा प्रहरी नायव उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको संयुक्त टोलीले रिसोर्टमा चेकजाँच गर्ने क्रममा ३१ जना पुरुष र ५ जना महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फेला परेको छ। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ।





प्रतिक्रिया