प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि



काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणअघि प्रमुख प्रतिपक्षी दललगायत अन्य राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ। कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण सफलताको शुभकामना दिँदै राष्ट्रिय महत्वका विषयमा साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले बेवास्ता गरेको आरोप लगाएको हो।

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

उनले राष्ट्रिय महत्वका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दलसँग परामर्श गर्ने लोकतान्त्रिक परम्पराको निरन्तरता वर्तमान सरकारबाट पनि अपेक्षा गरिएको उल्लेख गरेका छन्।

‘मित्रराष्ट्रहरूको महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्ष लगायत राजनीतिक दलहरूसँग परामर्श गर्ने हाम्रो स्थापित लोकतान्त्रिक परम्परा हो । यस्तो सकारात्मक परम्पराको निरन्तरता वर्तमान सरकारबाट पनि अपेक्षित थियो,’ शर्माले विज्ञप्तिमा भनेका छन्।

कांग्रेसले प्रधानमन्त्रीको भ्रमणलाई रचनात्मक सुझाव दिन गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरेको जनाएको छ। उक्त विमर्शमा जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा छलफल गरिएको थियो।

तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य राजनीतिक दल तथा विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेको कांग्रेसको गुनासो छ।

‘त्यसैले नेपाली कांग्रेसले पनि सरकारले नमागेको औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित ठानेन,’ शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको भन्दै राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी आवश्यक रहेको बताएका छन्।

‘राष्ट्रिय हितका विषयमा जति व्यापक परामर्श र साझा समझदारी निर्माण हुन्छ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान त्यति नै बलियो हुन्छ, तर दुर्भाग्यवश यो गहिरो वास्तविकता सरकारले आत्मसात गर्न सकेन,’ शर्माले भनेका छन्।

यद्यपि, कांग्रेसले सरकारको कमजोरीलाई प्रधानमन्त्रीको भ्रमणको सम्भावित विषयवस्तुसँग जोडेर नहेर्ने स्पष्ट पारेको छ। सरकारसँग विभिन्न विषयमा असहमति रहे पनि राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता कायमै रहेको कांग्रेसको भनाइ छ।

‘सरकारसँग हाम्रो विविध असहमति हुन सक्छ, तर नेपालको राष्ट्रिय हित र मित्र राष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा हाम्रो प्रतिबद्धता प्रधानमन्त्रीको साथमा स्पष्ट र अटल छ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले प्रधानमन्त्रीको भ्रमण क्षणिक लोकप्रियता र प्रचारमा मात्र सीमित हुन नहुने भन्दै विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको समाधान तथा दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माणमा केन्द्रित हुनुपर्ने अपेक्षा गरेको छ।

शर्माले भ्रमणको उपलब्धि औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाका आधारमा नभई त्यसबाट नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामका आधारमा मूल्यांकन हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  १ : ३६ बजे