भैरहवाको दोहोरो हवाई रुट ऐतिहासिक उपलब्धि : अर्थमन्त्री वाग्ले



काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवाका लागि दोहोरो हवाई रुट प्राप्त हुनु ऐतिहासिक ब्रेकथ्रु भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले संसद् नचलेको अवस्थामा समितिमार्फत नै भ्रमणका प्रमुख एजेन्डाबारे सरकारको धारणा राखेका हुन् ।

अर्थमन्त्री वाग्लेले हालसम्म एकतर्फी रहेको भैरहवाको हवाई रुट अब दोहोरो बनेको जानकारी दिए । नेपालले १०–१२ वर्षदेखि राख्दै आएको आग्रह र लामो कूटनीतिक पहलपछि यो उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले यसले नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई सुधार र स्तरोन्नतिको बाटोमा लैजाने विश्वास व्यक्त गरे ।

काठमाडौँ मात्र बाहिरी विश्वसँग जोडिएको तर नेपालका अन्य सहरबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क कमजोर रहेको तर्क प्रधानमन्त्रीले बलियो रूपमा राखेको स्मरण गर्दै उनले भविष्यमा महेन्द्रनगर, जनकपुरलगायत अन्य नाकाबाट पनि भारतीय तथा अन्तर्राष्ट्रिय सहरहरूसँग हवाई सम्पर्क विस्तार गर्ने पहल भइरहेको बताए ।

भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका बागडोग्रा विमानस्थल र नेपाली भूमि वा चिकेन नेक विस्तारसम्बन्धी चर्चालाई अर्थमन्त्री वाग्लेले कुनै उपन्यासको अंशजस्तो भनी टिप्पणी गरे ।

त्यस्तो कुनै पनि सहमति वा गतिविधि नभएको स्पष्ट पार्दै उनले सांसदहरूलाई समेत यस्ता झुटा र भ्रामक हल्लामा विश्वास नगर्न र नफैलाउन आग्रह गरे ।

सुनकोसी–सप्तकोसी आयोजनासम्बन्धी जिज्ञासामा उनले सन् २००४ अर्थात् करिब २२ वर्षदेखि नै विराटनगरमा नेपाल र भारत सरकारको संयुक्त परियोजना कार्यालय सप्तकोसी हाई ड्याम प्रोजेक्ट एन्ड सुनकोसी स्टोरेज कम डाइभर्सन स्किम कायम रहेको स्पष्ट पारे । भविष्यमा अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सन्दर्भमा त्यही पुरानो कार्यालयको नाम उल्लेख गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  २ : १५ बजे