काठमाडौं । सिद्धार्थ बैंकलाई भुक्तानी सेवा प्रदायक अन्तर्राष्ट्रिय संस्था भिसा इन्टरनेशनलले ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा दुई वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरेको छ ।
बैंकले कार्ड व्यवसायमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा ‘एक्सिलेन्स इन कन्ज्युमर प्रिपेड कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस’ अवार्ड प्राप्त गरेको हो ।
ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवामा उल्लेखनीय रुपमा बजार विस्तार गर्दै आएको छ । यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार आषाढ २०८३ मसान्तसम्म नेपालमा ३ लाख ३० हजार क्रेडिट कार्ड जारी भएकोमा सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार क्रेडिट कार्ड रहेको छ । यस आधारमा बैंकको बजार हिस्सा करिब २१ प्रतिशत रहेको देखिन्छ ।
त्यसैगरी, आषाढ २०८३ मसान्तसम्म बजारमा २ लाख ८० हजार प्रिपेड कार्ड जारी भएकोमा सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार कार्ड रहेको छ ।
क्रेडिट कार्ड सुविधालाई थप प्रभावकारी तथा सहज बनाउने उद्देश्यले मंसिर २९, २०८३ सम्म ग्राहकहरुलाई लाइफटाइम फ्री क्रेडिट कार्डका लागि आवेदन दिन सकिने सेवा पनि बैंकले उपलब्ध गराएको छ ।





प्रतिक्रिया