काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति टाकाराज थापा ‘सुरेश’ नियुक्तिको ६ महिना नपुग्दै पदमुक्त भएका छन् ।
जिल्ला समितिले कारबाहीको सिफारिस गरेपछि बागमती प्रदेश समितिले सर्वसम्मत निर्णय गर्दै बिहीबार उनलाई उपसभापति पदबाट हटाएको हो ।
मकवानपुर जिल्ला समितिबाट प्राप्त प्रतिवेदन तथा प्रदेश समितिअन्तर्गतको छानबिन समितिले सिफारिस गरेको प्रतिवेदनमाथि प्रदेश समितिको पूर्ण बैठकमा छलफल गरी सर्वसम्मत रूपमा थापालाई पदबाट मुक्त गर्ने निर्णय गरिएको रास्वपा बागमतीले जनाएको छ ।
थापालाई पदमुक्त गरिएको निर्णय केन्द्रीय संगठन विभाग र अनुशासन आयोगलाई समेत जानकारी गराउने निर्णय प्रदेश समितिले गरेको छ ।
थापालाई पदमुक्त गर्नुको ठोस कारण भने पार्टीले खुलाइएको छैन । जिल्ला समितिले के कस्तो आरोप र आधारसहित कारबाही सिफारिस गरेको थियो भन्ने विवरण समेत सार्वजनिक गरिएको छैन । थापा मकवानपुर १ का रास्वपा सांसद प्रकाश गौतमको सचिवालय सदस्य समेत हुन् ।
थापा यसअघि दुई वटा विवादमा मुछिएका थिए । गत वैशाखमा रास्वपा हेटौंडा नगर सदस्य नरहरि चौलागाईंलाई थापाले गालीगलौज गरेको भनिएको अडियो सार्वजनिक भएको थियो ।
यस्तै, गत भदौमा कैलाश गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अनिलप्रसाद जोशीसँग भएको थापाको विवाद पनि सार्वजनिक भएको थियो ।
गाउँपालिकाले थापामाथि अदालत परिसरमा जोशीलाई गालीगलौज गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै कारबाहीको माग गरेको थियो ।
थापाले उक्त आरोपको खण्डन गर्दै आफूले जोशीलाई गालीगलौज नगरेको र ज्यान मार्ने धम्की समेत नदिएको दाबी गरेका थिए । घटनापछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच मिलापत्र समेत भएको थियो ।





प्रतिक्रिया