वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ



वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थितफच्र्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो)भित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको तथा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार राति उक्त क्यासिनोमा नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जुवा खेल्ने कार्यमा संलग्न ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोषकुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दीपक साह रहेका छन् ।

त्यस्तै, पर्सा गढी गाउँपालिकाका २६ वर्षीय दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिकाका २७ वर्षीय विनोद कुमार र काठमाडौंको साँखुका ४० वर्षीय राजेश श्रेष्ठ पनि जुवा खेल्ने क्रममा नियन्त्रणमा लिइएका छन् ।

यसैगरी, नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलकप्रसाद भट्ट, वीरगञ्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपकराज पराजुली रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १० : ५४ बजे