काठमाडौं । सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबार साँझ करिब ७:४५ बजे बरहथवा नगरपालिका–१७ कटानीस्थित पुलबाट मोटरसाइकल नहरमा खसेर दुर्घटना भएको हो । मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१ नयाँ बजार निवासी २३ वर्षीय रुपेश पासवान गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बरहथवास्थित भेनस अस्पताल पुर्याइएकोमा चिकित्सकले राति ७ः५५ बजे मृत घोषणा गरेका थिए ।
मोटरसाइकलको पछाडि सवार सोही स्थानका २२ वर्षीय सुवेश पासवानको चिउँडोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक सुष्मा कठेतको कमान्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया