प्रधानमन्त्रीको जवाफ विपक्षी सांसदद्वारा बहिस्कार, मोदी सरकारविरूद्द लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव परास्त

सरकारविरुद्धको अविश्वासको प्रस्ताव, आगामी निर्बाचनका लागि भगवानको आशीर्वादः मोदी



नयाँदिल्ली । मोदी सरकारले तीन दिनसम्म चलेको बहसको अन्त्यमा प्रधानमन्त्री मोदीको चर्को भाषणपछि बिहीबार संसदमा अविश्वासको प्रस्ताव ध्वनिमतको आधारमा परास्त भएको छ ।

काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीसहित विपक्षी सांसदहरू सदनबाट बाहिर निस्केको केही समयपछि सभामुखले आह्वान गरेको ध्वनिमतमा उक्त प्रस्ताव पराजित भएको हो । उक्त दृष्य भारतीय टेलिभिजनहरूमा देखाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिइरहेका बेला विपक्षी दलका सदस्यले उनको सम्बोधन बहिस्कार गर्दै बिहीबार संसद भवनबाट बाहिरिएका थिए ।

प्रधानमन्त्रीले विभिन्न विषयमा विपक्षीले उठाएको सवालको जवाफ गरिरहँदा विपक्षी गठबन्धन (आई.एन.डी.आई.ए) समूहका सदस्यहरूले सम्बोधनलाई बहिस्कार गरी सदनबाट बाहिरिएका हुन् । उनीहरूको उद्देश्य प्रधानमन्त्रीको सम्बोधनका क्रममा विपक्षी बेन्चहरू खाली गर्ने रहेको देखिएको थियो ।

आफ्नो भाषणको क्रममा प्रधानमन्त्री मोदीले विपक्षी दलहरूमाथि कटाक्ष गर्दै अविश्वासको मत आफ्नो दल वा गठबन्धनलाई सन् २०२४ को लोकसभा निर्बाचन बिजयका लागि भगवानको आशीर्वाद भएको बताएका थिए ।

लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भने, “भारतीय जनताले हाम्रो सरकारमाथि पटक–पटक विश्वास देखाएका छन् । म यहाँ देशका करोडौं जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ ।”

प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे ।

“परमेश्वर धेरै दयालु हुनुहुन्छ र कुनै माध्यमद्वारा बोल्नुहुन्छ । विपक्षले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो भगवानको आशीर्वाद हो भन्ने मलाई विश्वास छ ।”

अविश्वासको प्रस्तावमाथि मंगलबारदेखि बहस सुरु भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ९ : ३१ बजे