इक्वेडरका कूख्यात अपराधी “फिटो“ अमेरिका सुपुर्दगी



फिटो भनेर चिनिने इक्वेडरका कुख्यात गिरोह नाइके एडोल्फो म्यासियस विलामारलाई अमेरिका सुपुर्दगी गरिएको छ । लागूऔष र हतियार तस्करीको आरोपमा अमेरिकामा उनलाई मुद्धा चलाइनेछ ।

श्रृंखलाबद्ध अपराधका लागि दोषी ठहर भई ३४ बर्षका लागि जेल चलान भएका उनी उच्च सुरक्षाका बीच कारागारबाट फरार भएपछि गत जुनमा पुनः पक्राउ गरिएको थियो ।

म्यासियसलाई आजै अमेरिकाको संघीय अदालतमा पेश गरिनेछ । त्यहाँ उनले आफूमाथिका आरोप अस्वीकार गर्ने उनका वकिलले बताएका छन् ।

म्यासियास “लोस चोनेरोस“ नामक गिरोहका नाइके थिए, जुन मेक्सिको तथा बाल्कन क्षेक्रका शत्तिशाली अपराधी समूहसँग जोडिएको छ । २०२३ मा राष्ट्रपति उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको हत्या योजनामा समेत उनको संलग्नता रहेको आशंका गरिएको छ ।

लोस चोनेरोसलाई इक्वेडरलाई पर्यटक गन्तव्यबाट अपराधको केन्द्र बनाएको आरोपे छ । हाल, विश्वको ७०% भन्दा बढी कोकिन इक्वेडरका बन्दरगाहमार्फत अन्यत्र पठाइन्छ । यो देश कोलम्बिया र पेरु, अर्थात् दुनियाँका दुई ठूला कोकिन उत्पादक मुलुकको बीचमा पर्छ ।

गिरफ्तारी र सुपुर्दगी
जुन महिनामा, इक्वेडर प्रहरीले फिटोलाई मान्टा शहरको एउटा भव्य घरको भुइँतलाको गोप्य बंकरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । त्यसपछि उनलाई ला रोक्का नामक उच्च सुरक्षा कारागारमा राखिएको थियो । त्यतिबेला राष्ट्रपति ड्यानियल नोबोआले सुरक्षा बलको प्रशंसा गर्दै फिटोलाई अमेरिका सुपुर्दगी गर्ने घोषणा गरेका थिए ।

कारागार प्रशासनले उनलाई जेलबाट निकालेर अमेरिकी अधिकारीहरूसमक्ष हस्तान्तरण गरिएको जानकारी दिएको छ ।
राष्ट्रपति नोबोआले आह्वान गरेको जनमत संग्रहमा नागरिकहरूले अपराधीलाई विदेशी मुलुकमा सुपुर्दगी गर्न सहमति दिएका थिए । नोबोआले अपराध नियन्त्रण गर्न अमेरिकी, युरोपेली, र ब्राजिलियन सेनाको सहयोगसमेत चाहेको बताएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ५० बजे