गाजा क्षेत्रमा भोकमरीको महासंकट फैलिँदै गएको राहत संस्थाहरूले चेतावनी दिएका छन् । सहायतासम्बन्धी १ सय भन्दा बढी संस्थाहरुले इजरायलले गाजालाई नाकाबन्दीमा राखेको र खाद्यान्न गाजामा पठाउन दिइए पनि त्यसलाई वितरण गर्न अनुमति नदिएको आरोप लगाएका छन् ।
ती संस्थाहरुले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा भनिएको छ, “हामी आफ्नै सहकर्मी र साझेदारहरूलाई आँखैअगाडि कुपोषणको कारण मरिरहेको देखिरहेका छौँ ।”
यसअघि आजै हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा कुपोषणका कारण ३३ जनाको मृत्यु भएको जनाएको थियो ।
गाजा क्षेत्रमा प्रवेश गर्ने सबै नाकाहरुमा नियन्त्रण जमाएको इजरायलले भने गाजामा अन्तर्राष्ट्रिय संस्थाहरूले वितरण गर्नका लागि तयार ९ सय ५० ट्रकबराबरको राहत सामग्री पर्खिरहेको जनाएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघको मानवीय सहायता एजेन्सीले भोकमरीका कारण गाजाका नागरिक सडकमै ढल्न थालेको जनाएको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धाको अवस्था संकटपूर्ण रहेको जनाइएको छ । अस्पतालहरुमा लामो समयदेखि खान नपाएका कारण बिरामी परेका मानिसहरुको संख्या बढ्दै गएको एजेन्सीले उल्लेख गरेको छ ।



प्रतिक्रिया