विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न विद्यार्थी संगठनहरुको माग



विद्यार्थी संगठनहरुले सरकारले विद्यार्थीका मुद्धा प्रति उपेक्षा गरेको भन्दै तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसॅग माग गरेका छन् । १६ विद्यार्थी संगठनले आज विज्ञप्ति जारी गदै अविलम्व विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका हुन् ।

विद्यार्थी संगठनले ऐनमै व्यवस्था गरेर विद्यालय शिक्षक नियुत्ति प्रक्रिया समावेशिताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत हुनुपर्ने पनि माग गरेका छन् ।

संविधानको धारा ३१ मा व्यवस्था भए बमोजिम माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था लागु गर्न विज्ञप्तिमा भनिएको छ । शिक्षा ऐन, २०२८ अनुसार सबै प्रकारका शिक्षक र कर्मचारीहरूको व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने विद्यार्थी संगठनहरुको निचोड छ ।

विद्यालय शिक्षा विधेयक माथिको छलफलमा विद्यार्थी संगठनहरूलाई समेत सहभागिता गराउन उनीहरूको माग छ । त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूको ऐनमा व्यवस्था भए अनुसार स्ववियु वा कल्याण परिषद्को निर्वाचन गराउन १६ विद्यार्थी संगठनले माग गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : २३ बजे